यार्सागुम्बा सम्बन्धी जानकारी


यार्सागुम्बा

यार्सागुम्बा के हो ?

नेपालको वहुउपयोगी एवं वहुमूल्य जडिबुटीहरुमध्ये यार्सागुम्बा पनि एक हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधाविरुवा वा बुटी (Herbs) भन्ने हुन्छ । यसको वैज्ञानिक नाम Cordyceps वा Cordyceps Sinensis हो, जसमा Cord ले Club र Ceps ले Head को अर्थ दिन्छ । यसलाई क्याटरपिलर फङ्ग्स (Caterpiller Fungus) पनि भनिन्छ । साथै, औधिमूलक च्याउ, फङ्गल वुटी, हिडने बुटी -Walking Herb_ जस्ता नामले पनि यार्सागुम्बालाई चिनाउने गरिन्छ । वास्तवमा यार्सागुम्बा आधा किरा र आधा फङ्ग्स -Half Insect and Half Fungus_ हो ।

यार्सागुम्बा कहाँ पाइन्छ?


यार्सागुम्बा
©Researchgate


यार्सागुम्बा  नेपालको ३००० देखि ५००० मिटरसम्मको उचाईमा पाइन्छ । हिमाली भूभागबाट हिऊँ पग्लने क्रमसँगै यार्सागुम्बा जमिनमाथि देखापर्न थाल्छ । सुरुमा लार्भाको रुपमा देखापर्ने यार्सागुम्बा पछि फङ्ग्समा रुपान्तरण हुन्छ । यार्सागुम्बा एक शक्तिवर्धक जडिबुटी हो । यो औषधिको रुपमा प्रयोग हुन्छ । यार्सागुम्बा ढाडदुखाई, रक्तअल्पता, थकान, दम, क्यान्सर, अनिन्द्रा, रक्तचाप, एलर्जीजस्ता रोगका लागि उपयोगी मानिन्छ । यसले फोक्सो, मृगौला, मुटु, कलेजोजस्ता शरीरका अङ्गहरुलाई स्वस्थ्यकर राखी रोगप्रतिरोध क्षमतालाईसमेत बढाउँछ भन्ने विश्वास गरिन्छ । यस्तै, रतिक्रियाको लागि यार्सागुम्बा अत्यन्त उपयोगी भएकोले यसलाई हिमालयन भियाग्रा पनि भन्ने गरिन्छ ।

यार्सागुम्बा

नेपालको पूर्वदेखि पश्चिमउत्तरी भेकमा पाईने यार्सागुम्बा अत्यन्त गुणस्तरीय मानिन्छ । यो एक प्रकृतिप्रदत्त अनुपम उपहार हो । यार्सागुम्बा नेपालमा सन् २००१ सम्म व्यापारिक प्रयोजनमा थिएन र मूल्य पनि थिएन । अहिले यसको प्रतिकिलो मूल्य दुईलाख रुपैयाँसम्म पर्ने गरेको छ । अत्यन्त महङ्गो मूल्यमा व्यापार हुनाले यसलाई नेपालको Yellow living Gold को रुपमासमेत पहिचान दिन् थालिएको छ । यार्सागुम्बा सङ्कलन अहिले अत्यन्त प्रतिस्पर्धी बनेको छ । यार्सागुम्बा नेपालको उच्च हिमाली भेकमा बसोबास गर्नेहरुका लागि जीवन निर्वाहको स्रोत त बनेको छ नै साथसाथै यो नेपालको महत्वपूर्ण आयस्रोतसमेत बन्न सक्ने उच्च सम्भावना छ । जडिबुटी नेपालको आम्दानीको मुख्य स्रोत हुनसक्ने भएकोले यसको व्यवस्थापनमा राज्यले उच्च महत्व दिनुपर्ने हुन्छ । साथसाथै, जलवायु परिवर्तनबाट उत्पन्न वातावरणीय प्रतिकूलताका कारण हिमाली क्षेत्रमा हिऊँ पर्ने र पग्लने परम्परागत पद्धतिमासमेत परिवर्तन देखिएकोले यार्सागुम्बा सङ्कटमा पर्ने सम्भावना बढाएको छ । यसतर्फ समयमा नै हाम्रो ध्यान जानु जरूरी छ ।