नेपालको भौगोलिक परिचय

१. भौगोलिक अवस्थिति

नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत रएसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरूमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । भू–स्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), अर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ ।


नेपालको भौगोलिक परिचय
©Quora

२. भौगोलिक विभाजन

२.१ धरातलीय स्वरूपको आधारमा नेपालको विभाजन

नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ।

नेपालको भौगोलिक परिचय
©Researchgate

(क) हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएरको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभागहरू छन् । जस्तै : अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका भोट क्षेत्र पर्छन् । धवलागिरी चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । त्यस क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम, सुन्दरतम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरो, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्णा, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरू हुन् । यी शृङ्खलाहरू अधिकतर भोट (तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन् ।
हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । उब्जनी न्यून हुनेहुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडिबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनीका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडिबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।
 यो क्षेत्र अल्पाइन र आर्षटिक जलवायुक्षेत्रअन्तर्गत पर्छ । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमारहेको चुङकुङ गाउँमा आलु फल्छ । २८ सय मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा २ सय मिलिमिटर वर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।
करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,००० मिटर माथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुषारापात हुन्छ । ४,०००–५,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । तर मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू भूभाग ठाडो भीर, ढुङ्गे र ठन्डा हुँदा चरनको लागि उपयुक्त छैन । घाँस पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमीन मात्रै खेतीको लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेको कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ ।
नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त (Glaciated) छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान (Gradient) ले गल्छेडा र गल्छी (Ganyons) बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाईको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा उष्ण, उपोष्ण र न्यानो समशीतोष्ण एवं चिसो शीतोष्ण बोटबिरूवा पाइन्छन् । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भू–भाग मध्ये ३४ प्रतिशत भू–भागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भू–भागले मात्र खेती धानेको छ । यस्तो २००,००० हेक्टर जमीनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ ।
हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ र दार्चुला गरी १६ जिल्ला पर्दछन् । हिमाली प्रदेशलाई निम्न तीन बृहत क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छः
मुख्य हिमाली क्षेत्र
हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १३११ चुलीहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो–ओयु, धवलागिरी, मनासलु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ् गणेश, गोर्खा, अन्नपूर्ण, धौलागिरी, काञ्जीरोवा, अपी, शैपाल हिमश्रृङ्खलाअन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये ८ वटा हिमशिखरहरू पर्दछन् । यस क्षेत्रमा कञ्चनजंघा, जनक, उम्बक, महालंगुर, रोलवालिङ्, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्ण, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकंकर, गुँरास गरी क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका २८ हिमश्रृङ्खलाहरू अवस्थित छन् ।
भित्री हिमाली क्षेत्र
मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, विश्वको सर्वोच्च शिखर सगरमाथा हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङमा वृष्टिछाँयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेकमा शुष्क जलवायु पाइन्छ ।
यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायः पाइन्न । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चउँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म हुन्छ । हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ ।
सीमान्त हिमाली क्षेत्र
यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानीहुम्लाको लामा सँस्कृति ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पूराना मानिन्छन् । मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछाँयामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरूभूमिका रूपमा रहेको छ ।

(ख) पहाडी प्रदेश

उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म उचाँहोचा पहाडहरू, फराकिला–साँगुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । दक्षिणमा करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका उचा भूभागहरू देशको ६८ प्रतिशत धरातल ओगटेर ७६ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दा बढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, गोरखा, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बाग्लुङ, प्यूठान, रोल्पा, रूकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी ३९ वटा जिल्ला पर्दछन् ।
पहाडी प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ :
चुरे पर्वत श्रेणी
नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्योभन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ ।
बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामलेसमेत प्रसिद्ध छ । यो नवीनतम पर्वत हो । नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे लगभग २,००० मिटरसम्म अग्लो छ । यो महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर
फैलिएको छ । कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन् । चुरे पर्वत श्रेणीको धेरै भाग जङ्गलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत (Synclinal) प्रकृतिका भाग छन् । यहाँ गरम हावापानी पाइन्छ । यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर) ढाक्छ । जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ । यहाँको माटो वर्षाको पानी थाम्नसक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन् । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ ।
सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भू–भागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवं अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भू–भाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेती हुनसक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईभन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस क्षेत्रमा जन अतिक्रमणले वननाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ । शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकूला खस्रा पदार्थले बनेको छ । खुकूलो चट्टानले बनेको भावरमा सालको वन–जङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदान गंगा मैदानकै अंशका रूपमा रहेका छन् ।
महाभारत श्रेणी
पूर्व–पश्चिम फैलिएको समुन्द्र सहतदेखि १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठूलाठूला चार नदी हाडजस्ता पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । ठाउँठाउँमा टार (पालुङटार, सल्यानटार, रूम्जाटार) र उपत्यका बनेका छन् । होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station पनि भनिन्छ । सैलुंग, ट्याम्के, जैथक, फुलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोंचे आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।
मध्यभूमि श्रेणी
नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरूण तथा तमोर नदीद्वारा निर्मित ठूला उपत्यका एवं समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् । यहाँ तुम्लिङटार (संखुवासभा), रूम्जाटार (ओखलढुङ्गा), मङ्गलटार (काभ्रेपलाञ्चोक), खुमलटार (ललितपुर), बट्टार (नुवाकोट), सल्यानटार (धादिङ), खैरेनीटार (तनहुँ), चौरजहारीटार (रूकुम) जस्ता टार पनि छन् ।
मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिको लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या बृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषि, वन र बागबानीबाट यसलाई सघाउ हुने गरेको छ ।
मध्यपहाडमा प्रिक्याम्ब्रियन (Precambraian), फाइलाइट (Phyllites), क्वार्टजाइट (Quartzites), अभ्रख, शिष्ट र ग्रानाइटजस्ता विविध चट्टान पाइन्छन् । मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता उठेका (Uplifted) पर्वत छन् । यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ । शिवालिक जस्तो भू–क्षयको प्रभाव छैन । यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भीर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन ।

पहाडी प्रदेशमा किराँत (राई, लिम्बू, तामाङ, मगर, गुरूङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् । पहाड आफैँमा विभिन्नतायुक्त भएकाले यहाँको घरनिर्माण, लवाइखवाइ, पेसा आदिमा विविधता पाइन्छ । फलफूल खेती र जडीबुटीको लागि बढी उपयुक्त वातावरण पाइन्छ । पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन् । यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, दोलखा, बनेपा, काठमाडौँ, पोखरा, जुम्ला, सल्यान, डोटीजस्ता सानाठूला बस्ती छन् । पहाडी क्षेत्रको कूल बस्तीमध्ये १,००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१–२,००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३,००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१–२००० मिटरसम्ममा केन्द्रीत छन् । नेपालका पाँचै विकास क्षेत्रका क्षेत्रीय सदरमुकाम धनकुटा, काठमाडौँ, पोखरा, सुर्खेत, दिपायल यही पहाडी इलाकामा अवस्थित छन् ।
आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । धान, मकै, गहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वरभूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।
महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठूला–ठूला टार, बेंसी र उपत्यकाहरूलाई मध्यभूमी भनिन्छ । यसअन्तर्गत काठमाण्डौं, पोखरा, त्रिशुली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन् । त्यस्तै जरायोटार, सल्यानटार, चेपेटार, करापुटार, वेल्टार, सुकेटार, तुम्लिङटार, रूम्जाटार, खरानीटार, बट्टार जस्ता उर्वर समथर भूमि पनि यसैअन्तर्गत पर्दछन् ।

(ग) तराई प्रदेश

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भू– भाग तराई प्रदेश हो । यसलाई मधेश पनि भनिन्छ । यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भावर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बोलबाला थियो । औलो उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुन्द्रसतहबाट ६० देखि ६०० मिटरको उचाइमा पर्ने यस प्रदेशले नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्र्तगत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २० जिल्लाहरू पर्दछन् ।
तराई प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छः
खास तराई
देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ ।
भावर क्षेत्र
खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भाँवर क्षेत्र भनिन्छ । ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कूल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।
भित्रीमधेश

चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कूल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्रीमधेशलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्रीमधेश मकवानपुर, चितवन र नवलपरासीलाई मध्यभित्रीमधेश दाङ देउखुरीलाई पश्चिमी भित्रीमधेश र सुर्खेत उपत्यकालाई सुदूर पश्चिम भित्रीमधेश भनिन्छ ।



(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो ।)