प्रश्न. प्रशासनिक उत्तरदायित्वका आयामहरू उल्लेख गर्नुहोस् ? नेपालका सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुनै एक आयामको बारेमा चर्चा गर्नुहोस् ।





प्रशासनिक उत्तरदायित्व

प्रशासनिक पद वा सार्वजनिक पदधारण गरेको/ सार्वजनिक जिम्मेवारी पाएको अख्तियार प्राप्त पदाधिकारीले आफूले सम्पन्न गर्ने कार्य, सम्पादन गरेको कार्य, सम्पादन स्तर र गुणात्मकताको बारेमा सरोकारवाला वर्गमा उत्तर दिनु पर्ने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।

कुनै पनि प्रशासकले आफ्नो जिम्मेवारीको वहन गर्दा जनता र सरकार प्रति जफावदेहिताको निर्वाह गर्ने, कार्य प्रति समर्पित रही गर्ने दायित्व बोधको अवस्थालाई प्रशासनिक उत्तरदायित्व भनिन्छ ।
प्रशासनिक उत्तरदायित्वको आयामहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ

  • राजनीतिक आयाम: राजनीतिक नेतृत्व वा सरकार/शासन प्रणाली अनुकूल भई जनप्रतिनिधिहरूको इच्छा एवम् माग सँग सम्बन्धित रही प्रशासनिक कार्यहरू गर्नुपर्ने, उत्तदायित्व यसमा पर्दछ ।
  • व्यावसायिक आयाम: कुनै पनि व्यवसाय विशेषसँग सम्बन्धित व्यक्ति वा निकायले पालना गर्नुपर्ने मूल्य मान्यताहरू, संलग्न पक्षहरूसँगको उत्तरदायित्व यसमा हुनुपर्दछ ।
  • कानुनी आयाम: विद्यमान संविधान तथा अन्य प्रचलित कानुनले तोकेको विधि प्रक्रिया अनुसार प्रशासनले निर्वाह गर्नुपर्ने भूमिका रहेको हुन्छ ।
  • व्यवस्थापकिय आयाम: श्रोत र साधनको मितव्ययी प्रयोग र प्रभावकारिताको लागि प्रशासकले निभाउने व्यवस्थापकिय भूमिका हो ।
  • प्रत्यक्ष वा अप्रत्यक्ष आयाम: प्रशासकले आफूले गरेको कार्यको विषयमा उत्तर दिने प्रत्यक्ष, आफ्नो मातहतका पदाधिकारीको विषयमा जवाफ दिनुर्ने दायित्व अप्रत्यक्ष उत्तरदायित्वका विषयहरू जबाफदेही हुने भूमिका पर्दछ ।
  • नैतिक उत्तरदायित्वको आयाम: सम्बन्धित सरोकारवालाहरूलाई जवाफ दिनुपर्ने अवस्थाको उत्तरदायित्व नैतिक उत्तरदायित्व, विवेक, आचरण र सदाचार प्रतिको उत्तरदायित्व पर्दछ ।
नेपालको सन्दर्भमा माथि उल्लिखित सम्पूर्ण आयामहरूको महत्त्वपूर्ण भूमिका रहेको छः उल्लिखित आयामहरू मध्ये नैतिक उत्तरदायित्वको आयाम निकै महत्त्वपूर्ण र व्यवहारिक पक्षको रूपमा पर्दछ नैतिक आयामको व्यवहारत हाम्रो नेपालको सन्दर्भमा किन महत्त्वपूर्ण छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
  • सार्वजनिक निकायद्वारा सम्पादित गरेका सार्वजनिक काम कारबाहीहरू सरकार, आम जनताहरूसँग खुला र पारदर्शी बनाउँदछ ।
  •  जनताले सामाजिक न्याय सहितको पहुँच, उपयोग र अपनत्वको ग्रहण गर्नका लागि नैतिक आयाम आवश्यक पर्दछ ।
  • नैतिक आयामले सुशासन कायम गरी सेवाग्राहीको सम्मान, आर्थिक आचरण र सुधारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउँदछ ।
  •  जनता र कर्मचारीबिच सम्मानजनक व्यवहार गर्ने प्रवृत्तिको विकास भई कार्य प्रकृति र कार्य सम्पादनमा सहजता ल्याउँदछ ।
  •  विकासका हरेक चरणमा जन-सहभागिताले Touching the hearts wining the minds को भूमिका सिर्जना गर्ने भएकोले नैतिक आयामको आवश्यकता रहेको हुन्छ ।
  •  सेवा प्रवाह चुस्त दुरुस्त र विश्वासको भाव पैदा गर्न सजिलो हुन्छ, जसले गर्दा ढिलासुस्ती, अनियमिततामा कमी ल्यायी भ्रष्टाचारलाई न्यूनिकरण गर्न सहयोग पुग्दछ ।
  • सार्वजनिक उत्तरदायित्वमा कर्मचारीको मूल्याङ्कन, अनुगमन तथा सुपरिवेक्षण प्रणालीले नैतिकता प्रवर्द्धनमा जोड दिन्छ ।
  •  सार्वजनिक पदाधिकारीको व्यवहारलाई नागरिक अपेक्षा अनुरूप कार्यमूलक, नतिजा केन्द्रित, स्वच्छ र नैतिक बनाउने कार्य गर्दछ ।
  • सार्वजनिक श्रोत, साधन र अधिकार प्रयोग गर्दा सार्वजनिक पदाधिकारीले इमान्दारिपूर्वक, खुलापनका आधारमा, सामाजिक उत्तरदायित्व पुरा गर्न जिम्मेवार बनाउँदछ ।

उपसंहार

सार्वजनिक उत्तरदायित्व लोकतान्त्रिक पद्धतिमा नागरिकको मताधिकारको मूल्यन हो । सार्वजनिक तहमा इमानदार हुने, सत्य बोल्ने, स्वच्छ रहने, सहिष्णु बन्ने, गतिशील हुने, खुला रहने, विश्वासिलो बन्ने, जस्ता समग्र पक्षलाई व्यवहारिक बनाउन नैतिकताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । नागरिकको विश्वास प्राप्त गरी शासन सञ्चालन गर्न पनि यसको आवश्यक हुन्छ । प्रशासनिक उत्तरदायित्व निर्वाह गर्ने परिपाटीको विकास भई सुशासन र जनताको विश्वासमा सञ्चालन गर्न सबै सरोकारवाला पक्षहरूको ध्यान जान जरुरी देखिन्छ ।