नेपाल नामकरणको आधार





नेपाल एक प्राचीन मुलुकको रूपमा

विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् । त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्य’ को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै ‘नेपाल’ नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

 नेपाल नामकरणको आधार

नेपाल नाम प्राचीनकालदेखि नै प्रचलित छ । लिच्छविकालमा विस्तारित यो नाम मल्लकालमा काठमाडौँ उपत्यका र वरपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो । नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा वर्णन गरिएको पाइन्छ :

१. भाषागत आधार

किराती भाषा

‘नेपाल’ पौराणिक किराँती शब्द ‘नेपा’ को साँस्कृतिक रूप हो । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ अर्थात् ‘मध्यदेश’ हुन्छ । मध्यपर्वतीय खण्डमा रहेको ‘नेपा’ मा पछि ‘ल’ प्रत्यय लागि नेपाल नाम रहेको हो ।

तिब्बती भाषा

नेपाल सरहदको उत्तरस्थित तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन अर्थात ऊन हुने ठाउँको रूपमा यो क्षेत्रलाई लिइएको पाइन्छ । यस क्षेत्रमा भेडापालन बढी भएकाले पाल अर्थात् पशम, पश्मीना (ऊन) प्रशस्त प्राप्त हुनु स्वाभाविक हो । तिब्बतीहरू नेपाललाई ‘वल्वो’ र मङ्गोलहरू ‘वल्पो’ भन्छन् । भोटनिवासीहरू हिमालपारीको यस भूभागलाई ‘पालदेश’ वा ‘वाल्पो’ पनि भन्दछन् ।

नेवारी भाषा

नेवारहरूले नेपाललाई ‘नेपा’ मात्र भन्ने गर्दथे जो पछि नेपाल हुन गयो । ‘ने’ भनेको ‘मध्य’ र ‘पा’ भनेको ‘देश’ हो । हिमाली भागमा रहेकाले यो नाम सार्थक मानिन्छ । ‘नेपा’ शब्दमा (मङ्गोल समुदायबाट प्रादुर्भुत असंस्कृत भएकोले ‘ल’ प्रत्यय लागि झ्याको झ्याल, पसःको पसल भएझै नेपाको नेपाल भएको अनुमान गरिएको छ ।

लिम्बू भाषा

लिम्बू भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ । पहाडी खण्डमा अत्यन्त ठूलो मैदानी उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको हो ।

लेप्चा भाषा



पुरानो लेप्चा भाषामा ‘ने’ को अर्थ पवित्र र ‘पाल’ माने गुफा हुन्छ । यसरी ‘नेपा’ ले पुण्यभूमि वा धार्मिक स्थल बुझाउँछ । नेपालका तामाङहरूले पनि तीर्थलाई ‘ने’ भन्दछन् । लामा धर्मग्रन्थमा ‘ने’ को अर्थ पवित्र स्थानको रूपमा लगाइन्छ । खोटाङमा ‘नेपा’ गाउँ छ ।

संस्कृत भाषा

नीपः (पर्वतपाद) शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमान छ । हिमाल र पञ्चाल जस्तै नीपः (फेदी) र आलयः (निवास) बाट पर्वत फेदीको निवासका रूपमा नेपाल नाम रहेको भाषिक व्याख्या पनि गरिएको छ । यजुर्वेदमा प्रयुक्त वैदिक शब्दमा ‘नीपः’ को अर्थ उपत्यका निवासी हुन्छ । नेपाल शब्दको मूल ‘नीप’ भनिन्छ । ‘नीपः’ भनेको अशोक (कदंब) वृक्ष पनि हो । संस्कृतमा शिवको शैव भएझैं नेपालको नैपाल शब्द प्रयोग भेटिन्छ । पारस्परिक आख्यानमा भाषागत शाब्दिक सानिध्य र ध्वन्यात्मक संगति देखिए तापनि उपर्युक्त सन्धि शब्दार्थ ठोस र प्रमाणितचाहिँ भएका छैनन् ।

तामाङ भाषा

यस जातिका एक महापुरूष तिब्बतसँग व्यापार गर्दथे । यी तामाङ लामाकै नाइके बने । तामाङ लामा बोलीमा ‘ने’ भनेको स्तन हो । पृथ्वीको स्तनस्वरूप पर्वतबाट पालित नेपालबाट व्यापार गर्ने महापुरूष पर्वतकै नाममा चिनिए र पर्वतको नामबाट नै नेपाल भनियो ।

२. जातिगत आधार

(क) नेपाल महात्म्यअनुसार ‘ने’ नामको ऋषिले यहाँका जनताको लालन पालन गरेकोले यस देशको नाम नेपाल रहन गएको मानिन्छ ।

(ख) दक्षिण भारतको केरला क्षेत्रमा बस्ने मालबार जाति नेवार, सिम्रौरनगढका संस्थापक नान्यदेवको साथ यहाँ आएका थिए । यिनीहरूको आगमनपश्चात् यहाँको नाम नेपाल रहन गयो । नेपालका प्राचीन शासक गोपालवंशीहरूलाई “निप” भनिन्थ्यो । उनीहरूको आलय (घर) लाई नेपाल भनियो । ‘नीप’ शब्दको उल्लेख वैदिक ग्रन्थमा र पाणिनीको अष्टाध्यायिमा समेत भएको पाइन्छ ।

(ग) भोटमा नेपाललाई Balyal अथवा वाप्लो भनिन्थ्यो भने चिनिया यात्रीले नि– पो–लो भन्ने गर्थे । किराँतहरूको प्रमुख बस्ति भएकाले बौद्ध धर्मग्रन्थहरूमा यहाँको नाम “नेवाल”,र अंग्रेजीमा NIPAUL, NEPAUL, NIPAL र NEPAL शब्दका साथै भारतीयहरूद्वारा “नेपाल” शब्दको प्रयोग हुने गरेको छ ।

यस्ता विविध आधार र मान्यता भए तापनि वास्तवमा नेपाल नाम यसै कारणले हुन गएको भनी किटान गर्न भने सकिएको छैन । तथापि मौलिक सभ्यता, संस्कृति र कलाले गर्दा नेपालको स्वतन्त्र र अविछिन्न स्वरूप भने कायम रहेको कुरामा भने मतान्तर छैन ।